काठमाडौँ । अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ)ले आयोजना गर्न लागेको ‘विमानस्थलहरूमा वन्यजस्तुको अवरोध र यसको समस्या समाधान’सम्बन्धी कार्यगत समूहको सम्मेलन तयारी पुरा भएको छ ।
भोलीदेखि ५ दिनसम्म पोखरामा सम्मेलन हुने छ ।
आइकाओको एसिया प्रशान्त क्षेत्रीय कार्यालयको आयोजना र नेपाल नागरिक उड्डयन प्राधिकरणको सहजिकरणमा हुन लागेको कार्यक्रमका लागि विभिन्न देश तथा नागरिक उड्डयनसँग सम्बन्धित संस्थाका उच्च पदाधिकारी नेपाल आइपुगेका छन् ।
सम्मेलनका लागि आइकाओको एसिया प्रशान्त क्षेत्रीय उपनिर्देशकसहितको टोली समेत नेपाल आइपुगेको छ ।
सम्मेलनमा विमानस्थलमा हुने वन्यजन्तुहरूको अवरोध र यसको समाधानबारे छलफल हुने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने,“ विमानस्थलहरूमा वन्यजस्तु तथा चराका कारण दुर्घटना भइरहेको छ । यसलाई विश्वव्यापी रुपमा कसरी रोकथाम गर्ने भन्ने विषय हामीले छलफल गर्ने छौँ । छलफलका साथै त्यस्ता बन्यजस्तुको संरक्षण कसरी गर्ने भन्ने विषयमा पनि सम्मेलनको विषय हुने छ ।”
नेपालमा भएको छलफलको निजोडलाई आगामी जुन २८ गतेदेखि जापानमा हुने महानिर्देशक स्तरीय बैठकमा पेश गरिने छ ।
महानिर्देशकस्तरीय बैठकले पारित गरेपछि आगामी सेप्टेम्बरमा हुने आइकाओको महासभामा पेश गरिने छ ।
महासभाले पारित गरेपछि विश्वभरका बिमानस्थलमा हुने वन्यजन्तु तथा चराचुरुङ्गीको अवरोधबाट हुने दुर्घटना न्यूनिकरणका लागि विभिन्न मापदण्ड तयार हुने छ ।
महानिर्देशक अधिकारीले यो सम्मेलनले नेपालको उड्डयन क्षेत्रबारे सकारात्मक सन्देश प्रवाह हुने बताए ।
उनले भने,“ यस सम्मेलनले पोखराका साथै नेपालको हवाइ उड्डयन क्षेत्रबारे अन्तराष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह हुने छ । नेपालका बिमानस्थलमा पनि वन्यजन्तु लगायतका समस्या छ । यसबारे पनि हामी छलफल गर्ने छौँ । ”
सम्मेलनमा अष्ट्रेलिया, चाइना, भारत, इन्डोनेसिया, लाओ पिडिआर, मलेसिया, मालदिभ्स, मंगोलिया,न्युजिल्यान्ड, पाकिस्तान,फिलिपिन्स, सिंगापुर, थाइल्यान्डका साथै आइकाओका उच्चअधिकारीसहितको टोली नेपाल आएको छ ।
प्रतिक्रिया दिनुहोस्