नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियोः उपसभापति वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य प्रष्ट पारेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रभावहीन र निराशाजनक भएको बताएका हुन्।

उनले नेपाली कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिलाई ‘मजाकजस्तो’ भन्दै आलोचना समेत गरे। “हामी भ्रष्टाचार गर्दैनौं, सुशासन दिन्छौं भन्ने बुँदाहरू आज मजाक भइसकेका छन्,” उनले भने,”आजभोलि टेलिभिजनमा कमेडी कार्यक्रम चलेनन् भने कुनै मन्त्रीलाई उभ्याएर सम्झौताका बुँदा वाचन गराए पुग्छ।”

वाग्लेले सरकार संविधान संशोधन र अर्थतन्त्र सुधार जस्ता मूलभूत विषयमा गम्भीर नदेखिएको उल्लेख गरे । “नीति तथा कार्यक्रममा संविधान संशोधनको एउटै बुँदा समेटिएको छैन, अर्थतन्त्रको सुधारको पनि कुनै चर्चा छैन्,” उनले भने ।

उनले देशमा ठूलो आर्थिक वा प्राकृतिक संकट नआउँदासम्म प्रमुख दलहरू मिल्न नसक्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे ।वाग्लेले नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट निर्माण र प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।