काठमाडौँ । अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा ‘सामाजिक सञ्जाल र आत्मअनुशासन’ विषयमा जनचेतनामूलक कार्यक्रम राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।
सामाजिक सञ्जालको सदुपयोग र आत्मअनुशासनको विकासबारे चेतना फैलाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, संस्थाका प्रतिनिधि तथा युवा सहभागी थिए।
क्लबका सचिव तथा मिडिया विज्ञ सरोज ओझाले स्वागत मन्तव्यसहित आत्मअनुशासनका व्यवहारिक उपायहरू र डिजिटल डिटक्सको अभ्यासबारे प्रस्तुती दिएका थिए । उनले भने,”हामी प्रविधिको प्रयोग त गरिरहेका छौं, तर त्यसलाई विवेकपूर्वक र उद्देश्यसहित प्रयोग गर्न सिक्नु आवश्यक छ। सामाजिक सञ्जालले निम्त्याउन सक्ने जोखिम र मौलाउँदै गएको विकृति नियन्त्रणका लागि समयमै सचेत हुनु जरुरी छ।”
अप्टिमिष्ट क्लब इन्टरनेशनल एसिया डिष्ट्रिकका महासचिव ऋषिश्वर थपलियाले युवापुस्तामा आत्मअनुशासनको विकास अत्यावश्यक भएकोमा जोड दिँदै सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबिचको सन्तुलन कायम राख्न आग्रह गरे। क्लबका कोषाध्यक्ष विजय सत्यालले सामाजिक सञ्जाललाई समय र प्रयोगको नियन्त्रणमा राख्न सके यसले आर्थिक र सामाजिक उन्नतिमा योगदान गर्न सक्ने बताए।
कार्यक्रममा शिक्षाविद् तथा युरेका स्कूलका प्राचार्य प्रभाकर रिजालले सामाजिक सञ्जाल लक्ष्य नभई लक्ष्यमा पुग्न प्रयोग गरिने साधन भएकोले त्यसको प्रयोग सोचविचारपूर्वक हुनुपर्ने बताए।
काठमाडाैँ जेसिजका अध्यक्ष श्याम कुमार घिमिरेले यस्ता कार्यक्रमले सामाजिक चेतना फैलाउन मद्दत गर्ने उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोग गर्दा सबैले विशेष सावधानी अपनाउन आग्रह गरे।
कार्यक्रमका सभापति तथा अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सका अध्यक्ष प्रल्हाद दाहालले सामाजिक सञ्जाल नियन्त्रणमा राख्न नसके समाजमा गम्भीर असर पर्न सक्ने भन्दै जनचेतनामूलक कार्यक्रममार्फत सामाजिक विकृतिहरूको रोकथामको प्रयास गरिएको जानकारी दिए। उनले कार्यक्रमले डिजिटल जीवनशैलीमा सन्तुलन कायम गर्न आवश्यक चेतना फैलाउने विश्वास पनि व्यक्त गरे।
अधिवक्ता भद्रमाया दाहालले सामाजिक सञ्जाललाई समाजको ऐना भन्दै यसको प्रयोग गर्दा आफनो र अरूको छविमा असर नपर्ने गरी सोचपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिइन्। सञ्चारकर्मी प्रमिला खतिवडाले कार्यक्रमको सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिका प्रसाद घिमिरे, नव प्रभात डेरी उद्योगका प्रबन्ध निर्देशक सुरेश शर्मा, दृष्य बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तथा क्लबका उपाध्यक्ष रमेश सन्जेल, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, नेती डेरी उद्योगका निर्देशक दीपक सन्जेल, नेती बेकरीका निर्देशक हुद्दराज तिमल्सिना र राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाललगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्