सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवालाई मन्त्री भण्डारीको आग्रह


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएका सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न आह्वान गरेका छन्।

नेपाल जेसीजले काठमाडौँमा आयोजना गरेको ‘क्रिएटिभ योङ इन्ट्रप्रेन्योर र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले युवाले विदेशमा मात्रै भविष्य खोज्नु सुखद नभएको बताउँदै स्वदेशमै उद्यमशीलताको बाटो रोज्न सुझाव दिएका हुन्।

उनले युवा उद्यमशीलता प्रवर्द्धन गर्न सरकारको तर्फबाट विभिन्न कार्यक्रमहरू अघि सारिएको जानकारी दिए। उनले भने, “गत आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन गरी १६५ जना उद्यमीलाई विना धितो ५ देखि २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिइयो। यस आर्थिक वर्षमा भने एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ, जसबाट हालसम्म ६६१ जना उद्यमी छनोट भइसकेका छन्।”

मन्त्री भण्डारीका अनुसार स्टार्टअप कर्जाबाट नविन सोच भएका युवाले राम्रो व्यवसाय सञ्चालन गरी उदाहरणीय कार्य गरिरहेका छन्। उनले बैंकको जागिर छोडेर व्यवसायमा लागेका केही युवाले सफलताको उदाहरण पेश गरिरहेको उल्लेख गर्दै सरकारले नीतिगत सहुलियतसमेत दिँदै आएको बताए।

उनले सरकार युवा नेतृत्व र उद्यमशीलताको विकासमा सधैं साथमा रहेको स्पष्ट पारे । कार्यक्रममा उनले डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, र रोबोटिक्सजस्ता नवीनतम प्रविधिहरूले उद्योग व्यवसायमा व्यापक परिवर्तन ल्याइरहेको भन्दै युवाहरूलाई ती प्रविधिसँग सुसज्जित बनाउनुपर्नेमा जोड दिए। उनले वैश्विक प्रतिस्पर्धामा टिक्न युवालाई आवश्यक सीप, ज्ञान र पहुँच प्रदान गर्न सरकार, निजी क्षेत्र र संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।

मन्त्री भण्डारीले ‘मेड इन नेपाल’ अभियानमार्फत स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने सरकारको रणनीति रहेको बताए। उनले प्राविधिक सहयोग, वित्तीय पहुँच र बजार विस्तारका लागि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी पनि दिए।