भारतमा रहेको नेपालीहरूको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले नेपालीहरू राजदुतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताए।

उनले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताए । उनले भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गरे ।

कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताए । उनले भारतमा रहेका नेपालीहरूले नेपाल सरकारले तेस्रो दर्जाको व्यवहार गरेको गुनासो समेत आएको जिकिर गरे ।