गभर्नर नियुक्तिमा ढिलाइप्रति सांसद डाँगीको आपत्ति


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक तथा सांसद निशा डाँगीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेकोप्रति आपत्ति जनाउँदै मेरिटोक्रेसीको आधारमा योग्य व्यक्तिको छनोट गर्न सरकारलाई सुझाव दिएकी छन्र ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डाँगीले बर्खायाम सुरू भइसकेको, राजधानी जोड्ने सडकहरू असुरक्षित बनेको र लाखौं नागरिक जोखिमपूर्ण यात्रामा बाध्य रहेको वर्तमान अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार विकास र सेवा प्रवाहमा ध्यान दिनुको सट्टा पद बाँडफाँटको भागबण्डामा अल्झिएको आरोप लगाइन् ।

“सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ,” डाँगीले भनिन्,“मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ। भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषयमा समय खर्च गर्नुको सट्टा जनताको सुरक्षामा ध्यान दिनु आवश्यक छ।”

उनले सरकारले १० महिनासम्म कहिले कार्यकारी निर्देशक त कहिले गभर्नर नियुक्तिको विषयमा अल्झिएको उल्लेख गर्दै तत्काल कार्यक्षमता र पारदर्शिताका आधारमा निर्णय लिन आग्रह गरिन् ।

सरकारले भागबण्डाको मिलाप नमिलेको कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको आरोप प्रमुख विपक्षी दलहरूले निरन्तर उठाउँदै आएका छन्। हालसम्म पनि नेपाल राष्ट्र बैंकमा स्थायी गभर्नरको नियुक्ति हुन नसक्दा आर्थिक नीति र नियमन प्रक्रियामा अन्योल देखिएको छ।