नार्कको ३४औं स्थापना दिवसः कृषि अनुसन्धान, नयाँ प्रविधि र जात विकासमा केन्द्रित योजनाहरू सार्वजनिक


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आफ्नो ३४औं स्थापना दिवस मनाउने क्रममा हालसम्मका उपलब्धिहरूको समीक्षा गर्दै आगामी योजना र चुनौतीबारे स्पष्ट दृष्टिकोण सार्वजनिक गरेको छ।

सन् १९९१ मा ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८’ अन्तर्गत स्थापना भएको नार्कले विगत तीन दशकभन्दा लामो समयदेखि देशको कृषि क्षेत्रको समृद्धिका लागि अनुसन्धान, प्रविधि विकास, शिक्षा तथा नीति निर्माणमा निरन्तर योगदान दिँदै आएको छ।

कार्यक्रमका अवसरमा परिषद्ले आफ्नो स्थापनाको मूल उद्देश्यहरू स्मरण गर्दै संस्थाको प्रमुख कार्यक्षेत्रहरू पुनः स्पष्ट पारेको छ।

कृषि क्षेत्रका समस्याहरू समाधान गर्न अनुसन्धान सञ्चालन गर्नु, कृषि शिक्षाका लागि उच्चस्तरीय अध्ययन तथा तालिम प्रदान गर्नु र सरकारलाई नीति निर्माणमा वैज्ञानिक सल्लाह तथा सुझाव उपलब्ध गराउनु नार्कका आधारभूत उद्देश्य रहेकाे नेपाल कृषि अनुसन्धान परिषद्का याेजना तथा समन्वय निर्देशक डा. भानुभक्त पाेखरेलले जानकारी दिए ।

परिषद्ले यिनै आधारमा जात तथा नश्ल विकास, जैविक विविधताको संरक्षण, स्रोत सामग्रीको उत्पादन तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको उनले बताए ।

हाल परिषद्का देशभर ६३ वटा कार्यालयमार्फत अनुसन्धान कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यस्ता कार्यक्रमहरूको ९७ प्रतिशत लागत नेपाल सरकारले व्यहोर्ने गरेको छ भने बाँकी ३ प्रतिशत विदेशी दातृ निकायहरूबाट प्राप्त हुने परिषद्ले जनाएकाे छ ।

यद्यपि, परिषद्ले हाल गम्भीर जनशक्ति अभावको चुनौती सामना गरिरहेको जानकारी दिइएको छ। १ हजार ८२३ स्वीकृत दरबन्दीमध्ये ४८ प्रतिशत पद खाली रहेका छन्। वैज्ञानिक तहमा ५७ प्रतिशत र प्राविधिक अधिकृत तहमा ४५ प्रतिशत पद रिक्त छन्, जसले अनुसन्धान तथा प्रविधि विकासको गति प्रभावित पारेको परिषद्को निष्कर्ष छ।

कार्यक्रममा परिषद्ले १६औं पञ्चवर्षीय योजनाअन्तर्गत अघि सारिएका रणनीतिहर पनि सार्वजनिक गरेको छ। संगठनात्मक तथा नीतिगत पुनर्संरचना, अनुसन्धान विस्तार, कृषि शिक्षा र प्रविधिको प्रभावकारी हस्तान्तरण, खाद्य तथा पोषण सुरक्षालाई केन्द्रीत अनुसन्धान, रैथाने ज्ञान र परम्परागत अभ्यासहरूको वैज्ञानिक आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिन परिषद् अघि बढ्ने जनाएको छ।

यस्तै, ‘डिजिटल नार्क’ कार्यक्रममार्फत सूचना प्रविधिको प्रयोग गरेर संस्थागत सेवा, तथ्याङ्क व्यवस्थापन र अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउने उद्देश्य लिएको पाेखरेलले जानकारी दिए ।

नार्कको स्थापनापछि कृषि उत्पादन र उत्पादकत्वमा देखिएको वृद्धिलाई संस्थाले विशेष उपलब्धिका रूपमा औंल्याएको छ। परिषद्का अनुसार स्थापना अघि र पछिको तुलनामा गहुँ, मकै र धानको उत्पादन क्रमशः २०१, १५२ र १२१ प्रतिशतले वृद्धि भएको छ। यस्तै, यी बालीहरूको उत्पादकत्वमा पनि दोब्बरभन्दा बढी वृद्धिको तथ्याङ्क प्रस्तुत गरिएको छ।

खेतमा प्रयोगमा ल्याइएका सिफारिस प्रविधिहरूले कृषकको आयमा सकारात्मक असर पारेको र उत्पादन लागत घटाउने दिशामा टेवा पुर्‍याएको दाबी गरिएको छ।

स्थापना दिवसका अवसरमा नार्कले अनुसन्धानलाई कृषकमैत्री बनाउने, प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने, र कृषिमा आत्मनिर्भरता हासिल गर्न विज्ञानको भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

कृषिमा बदलिँदो जलवायु, बजार पहुँच, खाद्य सुरक्षाको चुनौती र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिन वैज्ञानिक अनुसन्धान र प्रविधि विकासको अझ बढी खाँचो रहेको परिषद्को ठहर छ।