नाइमाले आयोजना गर्न लागेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को स्टल बुकिङ खुला


काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी भव्य र व्यवस्थित रूपमा आयोजना गरिने यस प्रदर्शनीका लागि स्टल बुकिङ खुला गरिएको छ।

एक्स्पोको स्टल बुकिङ २०८२ वैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२_ सम्म खुला रहनेछ। इच्छुक कम्पनीहरूले बुकिङ फारममार्फत आफ्नो आवश्यकता अनुरूप स्टल छनोट गर्न सक्नेछन्। स्टलहरूको अन्तिम बाडफाँट पारदर्शी लटरी प्रणालीमार्फत गरिने आयोजकले जनाएको छ।

दुई र चार पाङ्ग्रे सवारीसाधन तथा हलुका व्यावसायिक सवारीका लागि अलग-अलग हल नराखी प्रदर्शकले आवश्यकतानुसार स्वतन्त्र रूपमा स्टल रोज्न सक्ने व्यवस्था मिलाइएको छ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यका अनुसार नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबाइल क्षेत्रको भविष्यलाई गति दिनेछ र यस उद्योगलाई अघि बढाउने सहकार्यलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ। “हामी प्रदर्शनीमा सहभागी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्न निरन्तर प्रयासरत छौं,” उनले भनिन् ।

प्रदर्शनी व्यवस्थापन मिडिया स्पेस सोलुसन्स प्रा.लि.ले गर्नेछ। अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिने यस प्रदर्शनीले नीति निर्माता, उद्योगी, विज्ञहरूलाई एउटै प्लेटफर्ममा ल्याउने अपेक्षा गरिएको छ।