काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको औचित्य नभएको समेत बताएका हुन् । उनले विगतको सरकारले नीति तथा कार्यक्रममाथि छलफल गराउँदा नेपाली जनताको भावनालाई बुझेर गराउने गरे पनि वर्तमान सरकारले त्यसो गर्न नसकेको आरोप लगाए ।
उनले अहिलेको सरकारले ल्याएको नीति विभेदकारी भएको समेत टिप्पणी गरे । उनले विभिन्न आधारहरू तय गर्न नसक्दा समाजवादको यात्रालाई कसरी अगाडी बढाउन सकिन्छ ? भन्दै प्रश्न गरे । अध्यक्ष यादवले वर्तमान सरकार अप्राकृतिक र बिचौलियाको आधारमा बनेको आरोप दोहोर्याए ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको टिप्पणी समेत गरे ।
प्रतिक्रिया दिनुहोस्