काठमाडौँ । नर्सरी तथा पुष्प उत्पादक किसान संघले भारतबाट माटो सहितको बोट–बिरुवा अवैध रूपमा भित्र्याउने कार्यप्रति ध्यानाकर्षण जनाउँदै यसमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ।
संघले आज एक विज्ञप्ती जारी गर्दै गत वैशाख १३ गते ललितपुर महानगरपालिका वडा नम्बर २३ स्थित धापाखेलमा रहेको एक व्यवसायिक प्रतिष्ठानमा भारतीय नम्बर प्लेट (MH48C 05999) भएको ट्रकमार्फत भारतबाट माटोसहितका गमलायुक्त बिरुवा र प्लास्टिकका खाली गमला ल्याइएको सूचना प्राप्त भएको जनाएको छ।
स्थलगत अनुगमनमा माटो र गमलासहितको सामग्री भेटिएको र सो सामग्रीलाई राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरमा पठाइएको संघका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।
“वैज्ञानिक परीक्षण र वैधानिकता जाँचका लागि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, राजश्व विभाग, र स्थानीय सुरक्षा निकायलाई जानकारी दिइएको छ,”विज्ञप्तिमा भनिएको छ ।
संघले पुष्प तथा नर्सरी व्यवसायमा वैधानिक रूपमा संलग्न केही उद्यमी तथा व्यवसायीहरूलाई धम्क्याउने, घेराबन्दी गर्ने, हुलहुज्जत गर्ने जस्ता कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ। यसमा ‘नर्सरी व्यवसायी’ को नाममा केही व्यक्ति ठगी, दलाली र तस्करीमा संलग्न भएको आरोप लगाइएको छ। साथै पत्रकारहरूलाई समेत धम्क्याइएको भन्दै संघले यस्ता कार्यको घोर विरोध र भर्त्सना गरेको छ।
अध्यक्ष श्रेष्ठले यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरू तथा संस्थामाथि कानुनअनुसारको कडा कारबाही गर्न, सुरक्षा निगरानी बढाउन र वैध व्यवसाय सञ्चालनमा अवरोध नहोस् भन्ने वातावरण सिर्जना गर्न सरकार, निकाय र सरोकारवालालाई अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्