काठमाडौँ । पर्वतारोहणबाट पछिल्लो ६८ दिनमा ७७ करोड रूपैयाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।
पर्यटन विभागका अनुसार मार्च १ देखि मे ७ (फागुन १७ गतेदेखि वैशाख २४ गते)सम्म पर्वतारोहणबाट ७७ करोड ३५ लाख २८ हजार ५ सय ६२ रुपैयाँ रोयल्टी सङ्कलन भएको हो ।
यो अवधिमा सबैभन्दा धेरै रोयल्टी सगरमाथा आराेहणकर्ताबाट सङ्कलन भएको छ । सगरमाथा आरोहणबाट ६७ करोड ६० लाख ९० हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ ।
त्यस्तै ८ हजार मिटर माथि उचाई भएका ४ ओटा हिमाल आरोहणबाट १ करोड माथि रोयल्टी उठेको छ ।
जसमध्ये लोत्से हिमाल आरोहणबाट २ करोड ६८ लाख २१ हजार बढि रोयल्टी उठेको छ भने मकालु हिमाल आरोहणबाट १ करोड ८९ लाख ६१ हजार रोयल्टी उठेको छ ।
अन्नपूर्ण हिमाल आरोहणबाट १ करोड ६३ लाख ९६ हजार बढि रोयल्टी संकलन भएको छ भने कञ्चनजंगा हिमालबाट १ करोड ३० लाख बढि रोयल्टी सङ्कलन भएको छ ।
सबैभन्दा थोरै रोयल्टी ख्याङ हिमाल आरोहणबाट ८ हजार रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन बिभागका निर्देशक हिमाल गाैतमले जानकारी दिए ।
यो अवधिमा १ सय १९ समूहबाट ११ सय २७ जनाले हिमाल आरोहण गरेका छन् । जसमध्ये ८ सय ८७ जना पुरुष र २४० जना महिला आरोही रहेका छन् ।
यस अवधिमा सबैभन्दा धेरैले सगरमाथा आरोहण गरेका छन् । सगरमाथामा ४५ समूहका ४६५ जनाले आरोहण गरेका छन् । जसमध्ये ३७२ जना पुरुष र ८४ जना महिला रहेका छन् ।
अन्नपूर्ण हिमाल ६ ओटा समूहबाट ६६ जनाले आरोहण गरेका छन्।
मकालु हिमाल ८ ओटा समुहबाट ७९ जनाले आरोहण गरेका छन् भने ल्होत्से हिमाल ९ ओटा समुहबाट १०७ जना र कञ्चनजंगा ७ ओटा समहबाट ७५ जनाले आरोहण गरेका छन् ।
त्यस्तै ६ हजार माथिको हिमाल अमा डब्लाम पनि १० ओटा समूहबाट १०२ जनाले आरोहण गरेका छन् ।
यस अवधिमा हिमाल आरोहणका लागि २४० महिला र ८८७ जना पुरुष गरी ११ सय २७ जनाले अनुमति लिएको बिभागले जनाएको छ ।
सगरमाथा आरोहणको अनुमति पाउनेमा सबैभन्दा धेरै अमेरिका र भारतका नागरिक रहेका छन् । यी दुवै देशका ८३र८३ जनाले सगरमाथा आरोहणको अनुमति पाएका छन् ।
चीनका ६४ जना, रसियाका २५ जना, युकेका २९ जना, ब्राजिलका १६ जना, अष्ट्रेलियाका १३, जापानका १२ जना नागरिकले अनुमति पाएका छन् ।
सो अवधिमा ७ जना नेपालीले पनि हिमाल आरोहणको अनुमति पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्