नेपाल विभिन्न प्राकृतिक प्रकोप र विपद्‌हरूको दृष्टिमा उच्च जोखिममा छः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल विभिन्न प्राकृतिक प्रकोप र विपद्‌हरूको दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन्।

श्रीलंकाको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको भूगोल तराईदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भएकाले बाढी, पहिरो, खडेरी, शीतलहर, चट्याङ र हिमताल विस्फोटजस्ता प्रकोपको जोखिम बढ्दो रहेको बताएका हुन् ।

उनले हरेक वर्ष यी प्रकोपका कारण ठूलो जनधनको क्षति, पूर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने गरेको उल्लेख गरे। जोखिमसम्बन्धी सूचना राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्नुपर्ने, संस्थागत क्षमताको अभिवृद्धि गर्नुपर्ने र संवेदनशील समुदायलाई समयमै जीवनरक्षात्मक जानकारी पुर्‍याउनुपर्ने नेपाल सरकारको प्रतिबद्धता रहेको मन्त्री अधिकारीले स्पष्ट पारे।

जलवायु परिवर्तनका कारण जोखिमहरूको आवृत्ति र अनिश्चितता झन् बढेको भन्दै उनले पहाडी र दुर्गम क्षेत्रका समुदायहरू त्यसको बढी मारमा परेको बताए।

पूर्वचेतावनी प्रणालीलाई जलवायु-उत्थानशील र प्रभावकारी बनाउँदै लैजान क्षेत्रीय साझा दृष्टिकोण र सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गरे। सम्मेलनमा अफ्रिकी र एसियाली मुलुकहरूबीच जोखिम र पूर्वचेतावनी प्रणालीसम्बन्धी अनुभव र पहलहरूबारे छलफल भएको थियो।