भारतबाट अवैध रूपमा भित्र्याइएका ३० लाख बराबरको बिरुवा नष्ट


काठमाडौँ । भारतबाट अवैध रूपमा भित्र्याइएको करिब ३० लाख रुपैयाँ बराबरको माटोसहितको बिरुवा नष्ट गरिएको छ।

गत वैशाख १३ गते ललितपुर महानगरपालिका–२३ स्थित धापाखेलको एक व्यवसायिक प्रतिष्ठानमा भारतीय नम्बर प्लेट (MH48C 05999) भएको ट्रकमार्फत माटोसहितका गमलायुक्त बिरुवा र प्लास्टिकका खाली गमला ल्याइएको सूचना प्राप्त भएको थियो।

त्यसअनुसार गरिएको स्थलगत अनुगमनमा माटो र गमलासहितका बिरुवा फेला परेका थिए। ती सामग्रीहरूलाई राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरमा पठाइएको र वैज्ञानिक परीक्षण र वैधानिकता जाँचका लागि सम्बन्धित सरकारी निकायहरूलाई जानकारी गराइएको थियो। त्यसपछि बुधबार बेलुका ६ बजे ती सामग्री नष्ट गरिएको नर्सरी तथा पुष्प उत्पादक किसान संघका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

संघले पुष्प तथा नर्सरी व्यवसायमा वैधानिक रूपमा संलग्न केही व्यवसायीहरूलाई धम्क्याउने, हुलहुज्जत गर्ने, घेराबन्दी गर्ने जस्ता गतिविधिहरू भइरहेको भन्दै आपत्ति जनाएको छ। ‘नर्सरी व्यवसायी’ को नाममा केही व्यक्ति ठगी, दलाली र तस्करीमा संलग्न भएको आरोप पनि संघले लगाएको छ।

नर्सरी तथा पुष्प उत्पादक किसान संघले यस प्रकरणमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।

अध्यक्ष श्रेष्ठले यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरू र संस्थाहरूलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न, सुरक्षा निगरानी प्रणाली कडा बनाउन र वैध व्यवसाय सञ्चालनमा अवरोध नहोस् भन्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्। यता फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले पनि अवैध आयातका कारण बिरुवासँगै नयाँ रोग र किराफट्याङ भित्रिएकाले नेपाली किसानहरू ठूलो आर्थिक नोक्सानीमा परेको जनाइएको छ ।

सम्बन्धित समाचारः