सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः सांसद चौधरी


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइदिनुपर्ने बताएका छन् ।शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सांसद कोषको कुरा हुने गरेको बताउँदै सांसदलाई कोष नभई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् ।

उनले आफ्नो क्षेत्रका अधुरा परियोजनाहरूलाई पूरा गर्न सांसदलाई अधिकार सम्पन्न बनाउनु महत्वपूर्ण रहेको दोहोर्‍याए। उनले निर्वाचन क्षेत्रमा ट्याङ्की बनेको १० वर्ष पुग्दा पनि पाइपको अभावले जनताले पानी खान नपाएको बताउँदै यस्ता कैयौँ उदाहरणहरू रहेको जिकिर गरे ।

उनले कुनै निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरूलाई मूल्याङ्कन, अनुगमन र बजेट अभावको खण्डमा संवद्ध मन्त्रालयले हात बलियो नपारिइदिए शृङ्खलावद्ध ढङ्गबाट विकासको प्रक्रिया अगाडी बढ्न नसक्ने धारणा राखे ।

उनले रोजगारीको लागि दैनिक तीन हजारको सङ्ख्यामा नेपालीहरू विदेशीएकोतर्फ चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।