नीति तथा कार्यक्रममा विदेश जाने जनशक्ति रोक्ने कार्यक्रम आएनः दीपक गिरी


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा विदेशिने युवाको लर्को रोक्न सक्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले विगतमा आफूले सत्ता पक्षीय सांसदको हैसियतमा ‘स्मल इज ब्युटिफुल’ भनेपनि अहिले भने त्यसमा सुधारको आवश्यकता देखिएको धारणा राखेका हुन्। उनले भने, “स्मल इज ब्युटिफुल भन्ने कुरा विगतमा ठीक लागे पनि अहिले अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्न थालेको छ।”

सांसद गिरीले नीति तथा कार्यक्रममा स्पष्ट रूपमा प्रस्तुत भएका बुँदाहरू बदल्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठाउँदै परम्परागत शैलीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले सरकारको नीति तथा कार्यक्रम १५५ बुँदामा आधारित भएपनि अधिकांश बुँदामा गरिनेछ भन्ने मात्रै उल्लेख गरिएको भन्दै त्यसमा कार्यान्वयनको गम्भीरता नदेखिएको टिप्पणी गरे।

“गणतन्त्र अघि होस् वा गणतन्त्रपछि, सधैंजसो भूमि चक्लाबन्दी गरिनेछ, सुकुम्वासी व्यवस्थापन गरिनेछ भन्ने कुरा दोहोरिरहन्छ,” उनले भने, “तर कार्यान्वयन भने पाइँदैन। यस्तो शैली परिवर्तन नगर्ने हो भने देश कसरी बदलिन्छ? ”

गिरीले परराष्ट्र नीतिको सन्दर्भमा पनि स्पष्ट दृष्टिकोण आवश्यक भएको उल्लेख गरे। उनले भारत र पाकिस्तानबीचको पछिल्लो तनावले सार्क क्षेत्रमा कालो बादल मडारिएको सन्दर्भ उठाउँदै नेपालको परराष्ट्र नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरे।

सांसद गिरीले हाल नीति तथा कार्यक्रममा प्रस्तुत भएका कार्यक्रमहरू कार्यान्वयनमा लैजान सके राम्रो हुने पनि बताए। साथै, चर्चाका रूपमा आएका विषयहरूलाई पनि स्पष्ट रूपमा नीति तथा कार्यक्रममा समेट्न सुझाव दिए।