काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकको न्यायमा सहज पहुँच सुनिश्चित गर्न आधुनिक पद्धति र प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताएका छन्।
शुक्रवार काठमाडौँमा कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले स्थापना गरेका लोकतान्त्रिक मूल्य, मान्यता र अधिकारको संरक्षण गर्न समसामयिक आवश्यकता अनुसार कानुनी प्रणालीलाई परिमार्जन गर्दै प्रविधिसहितको प्रभावकारी न्याय प्रणाली निर्माण गर्नु अपरिहार्य भएको बताएका हुन्।
उनले भने, “संविधानको मर्म र वर्तमान आवश्यकता अनुरूप नयाँ कानून निर्माण गर्नुका साथै प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक प्रविधिको प्रयोगबाट आम नागरिकको न्यायमा पहुँच स्थापित गर्न जरुरी छ।”
राष्ट्रपतिले छिटो र छरितो न्याय सम्पादन, विधिको शासनको प्रत्याभूति तथा न्यायपालिकाप्रतिको जनआस्थाको सुदृढीकरणमा सबै सरोकारवालाको सक्रियता अपरिहार्य रहेको उल्लेख गरे।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायतका मूल्य र मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको स्मरण गराउँदै उनले त्यसको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी न्याय र कानून क्षेत्रसँग आवद्ध सबैमा रहेको बताए।
“आजको यो कानून दिवसले न्याय र कानून क्षेत्रसँग सम्बद्ध सबैमा उत्तरदायित्वको बोध गराउनेछ,” पौडेलले भने, “न्यायपूर्ण समाज निर्माणका लागि कानूनी सुधार, प्रविधिको प्रयोग र जनआस्था बढाउने काममा यो दिवस प्रेरणा बन्न सकोस्।”
प्रतिक्रिया दिनुहोस्