काठमाडाैँ । भारत र पाकिस्तानबिचको युद्ध सम्भावनाका कारण सगरमाथा संवाद प्रभावित हुनसक्ने आँकलन भइरहेका बेला सरकार पक्षले संवाद तोकिएको मितिमै हुने दाबी गरेको छ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद सचिवस्तरीय कमिटीका सदस्य–सचिव महेश्वर ढकालले कार्यक्रम जेठ २ देखि ४ गतेकै तयअनुसार सम्पन्न हुने स्पष्ट पारेका छन् ।
ढकालले भारत–पाकिस्तानको द्वन्द्वले संवादमा कुनै असर नपर्ने बताउँदै, सहभागीता सुनिश्चित गरिसकेका विदेशी प्रतिनिधिहरुले अहिलेसम्म सुरक्षासम्बन्धी चासो नदेखाएको जानकारी दिए । “अहिलेसम्म कसैले पनि भ्रमण स्थगित गर्ने जानकारी गराएका छैनन्,” उनले भने ।
सदस्य–सचिव ढकालका अनुसार सगरमाथा संवाद सचिवालयको बैठक बसेको भए पनि छिमेकी मुलुकबिच उत्पन्न परिस्थितिको सन्दर्भमा कार्यक्रम गर्न सकिने वा नसकिने भन्ने विषयमा कुनै पनि छलफल नभएको हो। बैठकमा अहिलेसम्मको तयारी र कार्यप्रगतिमाथि मात्रै समिक्षा गरिएको उनले जानकारी दिए ।
कोभिड–१९ महामारीका कारण स्थगित भएको सगरमाथा संवाद यसपटक जलवायु परिवर्तनको विश्वव्यापी र क्षेत्रीय असरबारे छलफल गर्न जेठ २ देखि ४ गतेसम्म आयोजना हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस्