विद्युत प्राधिकरणको सम्पत्ति–दायित्व मूल्याङ्कन गरिने छः मन्त्री खड्का


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (ड्यू डिलिजेन्स अडिट – डीडीए) गरिने बताएका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले विद्युत प्राधिकरणको वास्तविक अवस्था सार्वजनिक गरिने स्पष्ट पारेका हुन् ।

“श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो,”खड्काले भने, “त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह दिन चाहन्छु। हामी प्राधिकरणको पछिल्लो अवस्थाको डीडिए गराउँछौं।”

प्राधिकरण घाटामा गएको हो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री खड्काले प्रत्यक्ष उत्तर नदिए पनि श्वेतपत्रमार्फत वर्तमान यथार्थ सार्वजनिक गरिएको दाबी गरे।

उनले मुलुकमा अब लोडसेडिङ नहुने पनि स्पष्ट पारे। नेपाल विद्युत प्राधिकरणले गत शुक्रबार सार्वजनिक श्वेतपत्रमा सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत दिएको उल्लेख गरेको छ।

यद्यपि बाँकी भुक्तानीका लागि जगेडा रकम नरहेको र त्यसकै कारण १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिने प्रक्रिया अघि बढाइएको जानकारी समेत श्वेतपत्रमा दिइएको छ ।