बज्र मादी जलविद्युत आयोजनाका लागि लगानी जुट्यो, क्षमता विस्तारको तयारी


काठमाडौं । बज्र मादी जलविद्युत आयोजनाले लगानी जुटाएको छ ।

कास्कीको मादी गाउँपालिकामा बन्ने २४.८ मेगावाट क्षमताको आयोजनामा एनएमबि बैंकको अगुवाईमा लगानी जुटेको हो ।

आयोजना लागत ५ अर्ब ३५ करोड रहेकोमा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रहनेछ ।

एनएमबि बैंकले २ अर्ब ५० करोड र कृषि विकास बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्न गरी बज्र इनर्जी भेन्चर्ससँग सम्झौता भएको छ ।

बाँकी १ अर्ब ६० करोड रुपैयाँमध्ये संस्थापक लगानी कर्ताले ७० प्रतिशत स्वपूँजी लगानी गर्ने र ३० प्रतिशत सर्वसाधारणमा सेयर बेचेर जुटाउने योजना रहेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

उनले परियोजनाको क्षमता ३१ मेगावाटसम्म विस्तार गर्ने तयारी रहेको बताए । उनले भने,“क्षमता विस्तार गर्न लाइसेन्स अपेग्रेडका लागि विद्युत् विकास विभागमा आवेदन दिएका छौँ ।”

क्षमता विस्तार भए आयोजनाको लागत ६ अर्ब ३५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।

यस्तै सोही समूहले प्रवर्धन गरेको २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत् आयोजनाको पनि उद्घाटना गरिएको छ ।

आयोजनाबाट २०८१ साल कात्तिक २७ गतेदेखि नै नेपाल विद्युत् प्राधिकरणले खरीद गरे पनि औपचारिक उद्घाटन भने शुक्रबार गरिएको हो ।