जापानमा १७ हप्तादेखि चामलको मूल्य उच्च, सुपरमार्केटमा अझै अभाव


जापान । जापानमा चामलको खुद्रा मूल्य लगातार १७ हप्तासम्म उच्चतम स्तरमा पुग्दै गएको छ। कृषि मन्त्रालयका अनुसार अप्रिल २७ सम्मको हप्तामा प्रति ५ किलो चामलको औसत मूल्य ४ हजार २ सय ३३ येन (करिब ३० अमेरिकी डलर) पुगेको छ, जुन एक वर्षअघिको मूल्यको भन्दा दोब्बरभन्दा बढी हो।

अप्रिल २१ देखि २७ सम्म देशभरका करिब एक हजार सुपरमार्केटमा बिक्री भएको चामलको मूल्य अघिल्लो हप्ताको तुलनामा १३ येनले वृद्धि भएको मन्त्रालयले जनाएको छ। यो दर मार्च २०२२ यता तथ्यांक सङ्कलन सुरू भएयता सबैभन्दा उच्च हो।

चामलको आपूर्ति स्थिर राख्न जापान सरकारले मार्च महिनामा दुई चरणको लिलामीपछि भण्डारणमा रहेको २ लाख १२ हजार १ सय ३२ टन चामल सार्वजनिक गरेको थियो। तर, हजारौं टन चामल लिलामीमार्फत बजारमा पठाइए पनि सुपरमार्केटका शेल्फहरूमा पर्याप्त मात्रामा चामल नपुग्दा उपभोक्ताले मूल्यवृद्धिको चपेटा खेपिरहेका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले चामलको अभाव र मूल्यवृद्धिको प्रमुख कारण आपूर्ति शृङ्खला समस्याका साथै मौसमी प्रतिकूलतासमेत रहेको जनाएका छन्। सरकारी पहलबाट केही मात्रामा राहत मिल्ने अपेक्षा गरिएको छ, तर तत्काल मूल्य घट्ने सम्भावना भने कमजोर देखिएको छ।