काठमाडाैँ । २०८२ वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ हुने भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा कन्क्लेभ हुन लागेको हो ।
होटल नाभ्यामा सञ्चालन हुने कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल र अन्तरक्रिया हुने जनाइएकाे छ । कार्यक्रममा ६ बढी सेसनमा ३० बढी बिज्ञ वक्ताहरुको सहभागिता रहने आयोजक आइसिटी फाउन्डेसनले जानकारी दिएको छ ।
‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा ३ किनोट प्रस्तुतीसँगै ६ बढी थिम्याटिक प्यानल सेसन हुनेछन् । मधेश प्रदेशमा केन्द्रित विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रुपान्तरणका आइडियाहरुको जानकारी र प्रस्तुती पनि रहने आयोजक समितिले जनाएको छ । यसको लागि कन्क्लेभको वेबसाइट मार्फत डिजिटल सोलुसन/आइडियाको बारेमा जानकारी दर्ता गराउन सकिनेछ ।
डिजिटल मधेश कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआई र डेटा सुरक्षा, स्टार्टअप र इन्नाेभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिने छ ।
आयोजक आइसिटी फाउन्डेसन नेपालले गत बैशाख ९ र १० गते सुर्खेतमा २ दिने डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरेको थियो । प्रादेशिक कन्क्लेभको रुपमा आयोजना भइरहेको यस कार्यक्रममा प्रदेश सरकारहरुको प्रत्यक्ष आयोजकको रुपमा सहभागिता रहेको छ ।
कन्क्लेभले आउँदै गरेको आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको लागि डिजिटल तथा आइसिटी क्षेत्रलाई प्राथमिकतामा राख्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
पहिलो पटक आयोजना हुने डिजिटल मधेश कन्क्लेभमा सम्पूर्ण स्थानीय पालिका, मन्त्रालय र आइसिटी सम्वन्धि सरोकारवालाहरु सहित ३ सय बढीको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्