काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशिम शाहले विद्युतीय सवारीसाधनलाई राष्ट्रिय प्राथमिकताको रूपमा अघि बढाउन माग गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पेट्रोलियम पदार्थमा नेपालको अत्यधिक निर्भरता आर्थिक तथा वातावरणीय दृष्टिले घातक बन्दै गएको उल्लेख गर्दै समाधानको उपायका रूपमा विद्युतीय सवारीसाधनको प्रवर्धनमा जोड दिएका हुन्।
शाहका अनुसार विदेशी पेट्रोलियममा आधारित यातायात प्रणालीले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ, जुन वैदेशिक मुद्राको ठूलो हिस्सा बाहिरिने कारण बनेको छ। त्यसको प्रत्यक्ष असर वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका रूपमा देखिएको उनले औंल्याए।
सांसद शाहले विद्युतीय सवारीसाधन प्रवर्धन र प्रोत्साहनमार्फत दीगो आर्थिक तथा वातावरणीय समृद्धि सम्भव हुने विश्वास व्यक्त गरे। उनले विद्युतीय सवारीसाधनमा रूपान्तरणलाई कानूनी, नीतिगत तथा प्राविधिक रूपमा सहज बनाउन सरकार गम्भीर हुनुपर्ने बताए। साथसाथै, यस प्रविधिमा रूपान्तरण गर्न लाग्ने खर्चका लागि अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।
विद्युतीय सवारीसाधनको मर्मत र रूपान्तरणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तालिम तथा प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा सांसद शाहको जोड थियो। साथै चार्जिङ पूर्वाधार निर्माणमा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य अत्यावश्यक रहेको उनले औंल्याए।
शाहले सरकारसँग विद्युतीय सवारीसाधनलाई राष्ट्रिय प्राथमिकताको रूपमा लिन आग्रह गर्दै यसलाई सम्बोधन गर्ने नीतिगत र कानूनी पहल तत्काल थाल्नुपर्ने आवश्यकता रहेकाे बताए ।
प्रतिक्रिया दिनुहोस्