नीति तथा कार्यक्रम यथार्थपरक, कार्यान्वयन योग्य र स्थायित्वमुखी आएको बर्तौलाको दाबी


काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अघिल्ला वर्षको तुलनामा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बर्तौलाले विगतमा ल्याइएका कार्यक्रमजस्तो कानूनी दृष्टिले कमजोर र घोषणामुखी नभई, देशको आर्थिक र सामाजिक धरातलमा आधारित यथार्थपरक दस्तावेज आएको बताएका हुन् ।

उनले भने,”सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, कानूनको कसीमा कमजोर, स्रोतसाधनविहीन र लोरिझ्याइँ मात्र गर्ने छैन। यो कर्णप्रिय घोषणाको पुलिन्दाभन्दा माथि उठेर मुलुकको वास्तविकता र सीमामा आधारित छ।”

बर्तौलाले नीति तथा कार्यक्रम सत्तारूढ दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले) बिचको आपसी समझदारीमा आधारित रहेको उल्लेख गर्दै यसले वर्तमान राजनीतिक सहकार्यलाई संस्थागत गर्न र दीर्घकालीन योजना कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार यो नीति तथा कार्यक्रमले मुलुकलाई विद्यमान चुनौतीहरूको सामना गर्दै नीतिगत स्थायित्व कायम गर्न सक्नेछ। उनले प्रमुख प्रतिपक्षी दलहरूले सिर्जनात्मक आलोचना नगरी विरोधकै लागि आलोचना गरेको भन्दै असन्तुष्टि पनि जनाए।