सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँः सांसद खड्का


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले सरकारको नीति तथा कार्यक्रम समग्र रुपमा राम्रो आएको भएपनि मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने खालको कुनै कार्यक्रम नभएको बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयगत रूपमा सबै विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको भएपनि विकासको लक्ष्य र उद्देश्य पूरा गर्नेगरी कुनै कार्यक्रम नभएको बताएका हुन् ।

आर्थिक रूपमा देखिएका विविध समस्यालाई समाधान गर्नेगरी नीति तथा कार्यक्रम केन्द्रित नभएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध बोल्नेमाथि सरकारले प्रतिवाद गर्नेकुरा नीति तथा कार्यक्रममा समेटिनु सही नभएको बताए । उनले सडकमा देखिने जनताका असन्तोष र निराशालाई सरकारले लुकाएर नलुक्ने बताए ।

सांसद खड्काले नेपालमा रहेका ७० लाख युवा जनशक्तिलाई रोजगारी लगायत विभिन्न अवसरहरू सिर्जना गर्नेगरी बजेट आउनुपर्ने बताए ।