काठमाडौँ । सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमका लागि भारत सरकारले १५ ओटा विद्युतीय गाडी सहयोग गरेको छ ।
नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित समारोहमार्फत हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरू परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई हस्तान्तरण गरेका हुन् ।
देउवाले उक्त सहयोगलाई वातावरणीय संरक्षण तथा क्षेत्रीय सहकार्यप्रतिको साझा प्रतिबद्धताको प्रतिकका रूपमा लिएको बताइन् । आगामी सगरमाथा संवादको सफल आयोजनामा सहयोग पुर्याउने उद्देश्यले भारत सरकारले प्रदान गरेका विद्युतीय सवारी साधनले कार्यक्रममा हरित र दिगो विकासको सन्देश दिन मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने तय भएको छ। यस संवादमा वातावरणीय संकट, जलवायु परिवर्तन तथा दिगोपनासम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्