काठमाडौँ । २०८१ चैत मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिती २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ चैत मसान्तसम्म १८.९ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ चैत मसान्तसम्म २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ । २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । २०८१ असार मसान्तदेखि २०८१ चैत मसान्तमा १५.६ प्रतिशतले बढेको हो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ चैत मसान्तमा ५०.८ प्रतिशतले वद्धि भई २ खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ ।
२०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको आयातलाई आधार मान्दा १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्