चीनमा हुवावे र सेरेसको एइटो एम८ सार्वजनिक हुनु अघिनै पायो १ लाख अर्डर


काठमाडाैँ । चीनको बजारमा सार्वजनिक हुनुअघि नै धेरै चर्चा कमाउन सफल एइटो एम८ले हालसम्म १ लाखभन्दा बढी प्रि-सेल अर्डर प्राप्त गरेको छ। हुवावे र सेरेसको सहकार्यमा विकसित यो ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी मार्च ६ देखि प्रि-बुकिङमा खुलाइएको थियो।

पाँच हजार युआन (करिब ७०० अमेरिकी डलर) अग्रिम बुझाउने योजनासहित खुलाइएको बुकिङमा प्रारम्भिक घण्टामै उत्साहजनक प्रतिक्रिया देखिएको थियो। प्रि-बुकिङ खुलेको एक घण्टामै ७ हजार ५००, छ घण्टामा २१ हजार र १२ घण्टामा २८ हजार युनिटको अर्डर प्राप्त भएको थियो। दुई साताभित्र अर्डर संख्या ७० हजार नाघेको थियो भने एप्रिल ७ मा हारमाेनी इन्टलिजेन्ट माेबिलिटि एलाइन्सले जम्मा ३२ दिनमै १ लाख अर्डर पुगेको घोषणा गरेका थियाे ।

एइटो ब्रान्ड हुवावे र सेरेसबिचको संयुक्त प्रयास हो। यसमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले प्रविधिगत भाग, मुख्य कम्पोनेन्ट आपूर्ति र बिक्रीको जिम्मेवारी लिएको छ। एइटो का गाडीहरू हारमाेनी इन्टलिजेन्ट माेबिलिटि एलाइन्स स्टोरमार्फत लक्सिड र स्टेलाटो जस्ता अन्य ब्रान्डहरूसँगै बिक्रीमा छन्।

एइटो एम८ डिजाइन तथा प्रविधिको हिसाबले हालको फ्ल्यागशिप मोडेल एइटो एम९ सँग मिल्दोजुल्दो देखिन्छ। यो गाडीको लम्बाइ ५१९० मिमि, चौडाइ १९९९ मिमि, उचाइ १७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको कम्पनीकाे दाबी छ । बाह्य डिजाइनमा लिडार सेन्सर, एलईडी लाइट स्ट्रिप, २१-इन्चका मल्टी-स्पोक रिम, टिन्टेड विन्डोज र रिट्रयाक्टेबल डुअर ह्यान्डल जस्ता आधुनिक फिचरहरू रहेकाे कम्पनीले जनाएकाे छ ।

एइटो एम८ को प्रि-सेल मूल्य ३ लाख ६८ हजार युआनदेखि ४ लाख ५८ हजार युआन (झण्डै ५० हजार ५४० देखि ६२ हजार ९०० अमेरिकी डलर) सम्म रहेको छ। यसको प्रमुख प्रतिस्पर्धीहरूमा एलआइ अटाे एल ८ र दिपल एस०९ रहेका छन्।