निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकतामा छः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन्।

सोमवार नेपाल चेम्बर अफ कमर्ससँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्र सुधारका लागि ठोस कदम चालिने बताएका हुन्। “विगतका ढिलासुस्ती र अवरोध अन्त्य गर्दै सरकार आर्थिक पुनःउत्थानको दिशामा अघि बढ्दैछ,” मन्त्री पौडेलले भने ।

उनले निजी क्षेत्रको भूमिका सरकार स्पष्ट रूपमा बुझ्ने पक्षमा रहेको जनाउँदै सोही कारण करिब ३०–३२ वटा कानून अध्यादेशमार्फत संशोधन गरिएको जानकारी गराए।

“सरकार बनेदेखि निजी क्षेत्रले लामो समयदेखि भोग्दै आएका समस्याहरू समाधान गर्न हामीले केही महत्वपूर्ण प्रयास गरेका छौं,” उनले भने, “अध्यादेशमार्फत सुरू गरिएको कानून संशोधन संसदबाट पारित भइसकेको छ, अब तिनको कार्यान्वयनका लागि नियमावली र निर्देशिका निर्माणमा सरकार जुटेको छ।”

अर्थमन्त्री पौडेलले आर्थिक सुधारका प्रयासहरू क्रमशः अघि बढ्ने पनि उल्लेख गरे। “यो सरकारको अन्तिम प्रयास होइन, सुधारको पहिलो कदम मात्र हो। हामी अझ थप उपलब्धी हासिल गर्ने दिशामा अघि बढ्दैछौं,” उनले भने ।

उनले आगामी बजेट निर्माणको क्रममा निजी क्षेत्रबाट आएका सकारात्मक सुझावहरूलाई समेट्ने प्रतिवद्धता समेत व्यक्त गरे।