काठमाडौँ । आक्र्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई अत्याधुनिक १८ ओटा जुबाओ इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ। सोमबार काठमाडौँको नागपोखरीस्थित आर्यन्या बुटिक होटलमा आयोजित कार्यक्रममा ती भ्यानहरू ट्राभल्सलाई प्रदान गरिएको हो।
चीनमा निर्मित यी भ्यानहरू अत्याधुनिक प्रविधिसहितका इलेक्ट्रोनिक सवारी साधन हुन्। आक्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार यी भ्यानहरू विशेषगरी समूह यात्रा, सटल सेवा र व्यावसायिक प्रयोजनका लागि उपयुक्त छन्। उनले भ्यानहरू वातावरणमैत्री, सस्तो सञ्चालन खर्चयुक्त र आरामदायी भएको जानकारी दिए।
श्रेष्ठले भने, “हामीले धेरै मिहिनेत गरेर यो गाडी नेपाली बजारमा ल्याएका हौं। ११ र १४ सिट क्षमताका भ्यानहरूमध्ये १४ सिटे भ्यान मुख्य आकर्षण हो। स्वयम्भू हारतीले १८ ओटा भ्यान एकैपटक लिएर देशका विभिन्न स्थानमा सञ्चालन गर्ने योजना बनाएको छ।”
उनले इभीकाे भन्सार दर बढाइएमा नेपालको विद्यमान कर प्रणालीले घाटा व्यहोर्ने सम्भावना रहेको पनि बताए। “इभीको भन्सार बढ्यो भने अहिले आउँदै गरेको राजस्व घट्छ, अनि फेरि पेट्रोल(डिजेल गाडीको जस्तै अवस्था आउँछ,” उनले भने ।
स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सका सञ्चालक उज्जन महर्जनले पनि जुबाओ भ्यानप्रति विश्वास व्यक्त गर्दै यसलाई आरामदायी र आकर्षक भएको बताए। उनले भने, “हामीले यो भ्यान कमर्सियल प्रयोगका लागि रोजेका हौं। यसको रेन्ज र डिजाइन दुवै आकर्षक छ। विशेषगरी १४ सिटर भ्यान नयाँ भएकोले हामीले यसैलाई प्राथमिकता दिएका हौं।”
महर्जनले नेपालको सडक अवस्थालाई दृष्टिगत गर्दा जुबाओ भ्यान उपयुक्त रहेको उल्लेख गरे। साथै, व्यावसायिक यातायातका लागि क्लियरेन्सको समस्या समाधान भएमा यस्ता भ्यानहरूले बजारमा राम्रो सम्भावना राख्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले जुबाओ भ्यानले नेपालको सार्वजनिक यातायात प्रणालीको गुणस्तर सुधार गर्ने र दिगो हरित भविष्य निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्