मौलाकालीमा ‘इला होटल’ सञ्चालन, सातै प्रदेशमा पर्यटन पूर्वाधार विस्तार गर्ने अध्यक्ष ढकालको घोषणा


काठमाडौँ । नवलपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मौलाकाली मन्दिर नजिकै निर्माण गरिएको ‘इला होटल’ सोमबारदेखि सञ्चालनमा आएको छ। आइएमई समूहअन्तर्गतको आइएमई हस्पिटालिटीले सञ्चालनमा ल्याएको यस होटलसँगै समूहले देशभर पाँच वटा होटल तथा रिसोर्ट सञ्चालन गरिसकेको छ।

उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिको मूल आधार पर्यटन भएको उल्लेख गर्दै सातै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण गरिने जानकारी दिए। उनका अनुसार हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण सम्पन्न भइसकेको छ भने दुई स्थानमा होटलसहितका परियोजना सञ्चालनमा आइसकेका छन्।

ढकालले बागलुङमा सञ्चालित ‘इला होटल’, चन्द्रागिरिमा ‘चन्द्रागिरि हिल्स रिसोर्ट’, लाजिम्पाटको ‘होटल ले हिमालय’ र पोखराको लेकसाइडमा ‘लेकसाइड रिट्रिट’ का बारेमा पनि जानकारी दिँदै आगामी दिनमा लुम्बिनी, कैलाली र ताप्लेजुङमा समेत केबलकार तथा रिसोर्ट निर्माण कार्य अघि बढिरहेको उल्लेख गरे।

उनले मुलुकमा पर्यटन पूर्वाधारको कमी रहेको बताउँदै हाल नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई छोटो हुँदै गएको र दैनिक खर्च पनि ५० डलरभन्दा कम रहेको तथ्याङ्क प्रस्तुत गरे। यस अवस्थालाई परिवर्तन गर्न थप ठूला तथा गुणस्तरीय पूर्वाधार आवश्यक रहेको उनले बताए।

“सरकारले निजी क्षेत्रलाई वास्तविक साझेदार मानेर नीतिगत सुधार र सहुलियतपूर्ण व्यवस्था गर्‍यो भने लगानी भित्रिन सक्छ,” ढकालले भने, “केबलकार, रिसोर्ट, होटलजस्ता संरचनामा लगानी गर्नुपर्छ जसले पर्यटकको बसाई लम्ब्याउँछ, विदेशी मुद्रा आर्जन गराउँछ, रोजगारी सिर्जना गर्छ र राजस्व बढाउँछ।”

ढकालले चन्द्रागिरिमा सञ्चालनमा आएको केबलकार परियोजनाले छोटो समयमा पर्यटकीय गन्तव्यको रुपमा सफलता पाएको उदाहरण प्रस्तुत गर्दै मौलाकाली क्षेत्रमा निर्माण गरिएको इला होटलले पनि पर्यटकीय विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

“यो संरचना राष्ट्र र जनताका साझा सम्पत्ति हुन्,”उनले भने, “स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै हामीले यो संरचनालाई उनीहरूको आफ्नै सम्पत्तिको रूपमा विकास गर्ने मोडल अगाडि सारेका छौं।”

उनले पर्यटन, प्रकृति र वातावरण क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै त्यसमा प्रविधि, पुँजी र इच्छाशक्ति मिसाउनुपर्ने धारणा राखे। “निजी क्षेत्रको आत्मविश्वासबाट सरकारले फाइदा लिन सक्नेछ, यस्ता परियोजनाले मुलुकको समृद्धिमा चमत्कारीक योगदान पुर्‍याउनेछ”,उनले भने ।

कार्यक्रममा संघीय, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरू, राजनीतिक दल, स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।