काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सुधारलाई आगामी बजेटको केन्द्रबिन्दु बनाइने बताएका छन्।
राजधानीमा आयोजना गरिएको विकास साझेदारहरूसँगको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय थालिएको आर्थिक सुधार प्रक्रियाबाट सकारात्मक परिणाम देखिएको उल्लेख गर्दै त्यसलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
“केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं, त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौं,” अर्थमन्त्री पौडेलले भने, “आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्व दिनेछौं।” उनले अध्यादेशमार्फत गरिएका कानुनी संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन, विभिन्न नीति तथा निर्णयहरूलाई नीतिगत सुधारका महत्वपूर्ण अंगका रूपमा उल्लेख गरे।
अर्थमन्त्री पौडेलले विकास साझेदारहरूलाई आगामी बजेट विशेषगरी निजी क्षेत्रको प्रोत्साहन, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि तथा समग्र अर्थतन्त्रको सुदृढीकरणमा केन्द्रित हुने जानकारी गराए।
स्रोत सुनिश्चितताको हिसाबले चुनौतीपूर्ण अवस्था रहेको स्वीकार गर्दै उहाँले बजेट निर्माण गर्दा मितव्ययिता, खर्च कटौती र सीमित स्रोत-साधनको अधिकतम प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।
“वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्दै त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ,” पौडेलले भने। उनले पूँजीगत खर्चमा देखिएका समस्याको समाधानतर्फ पनि ध्यान दिइएको जानकारी दिए।
अर्थ सचिव घनश्याम उपाध्यायले आगामी बजेटले आर्थिक अनुशासन कायम गर्ने र निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धिमा जोड दिने बताए। त्यसैगरी, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले विगत वर्षको तुलनामा अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढिरहेको र आर्थिक परिसूचकहरू सकारात्मक देखिएको जानकारी दिए।
छलफलमा सहभागी विकास साझेदार राष्ट्रहरूका प्रतिनिधिहरुले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग, यथार्थपरक बजेट निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए।
छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अष्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्याण्ड, युरोपियन युनियन, विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य संगठन लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्