काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा देखिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले समयमै पूर्वतयारी थाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले वर्षा सुरू हुन बाँकी नै रहँदा बाढी र पहिरोका कारण नागरिकहरू समस्यामा परिरहेको अवस्था उल्लेख गरे।
उनले नवलपरासीमा पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको र विपी राजमार्ग पनि बाढीले प्रभावित भएको तथ्य उल्लेख गर्दै अबको वर्षायाममा थप दुःखद घटनाहरू हुनसक्ने चेतावनी दिए ।
“प्रधानमन्त्री र मन्त्रीहरू जहाज र हेलिकप्टर चढेर हिँड्ने हुँदा सडकको वास्तविक अवस्था थाहा पाउने अवस्था छैन,”अर्यालले भने, “नागढुंगा–मुग्लिङ सडकको पुनःनिर्माण कछुवाको गतिमा भइरहेको छ। यसले जनताले गम्भीर कष्ट भोग्नुपर्ने स्थिति आउने संकेत देखिएको छ।”
उनले ठेकेदार तथा निर्माण कम्पनीहरूसँग तत्काल छलफल गरी जोखिम न्यूनीकरणको उपाय खोज्न आग्रह गरे । कार्यवाहक सभापति अर्यालले सरकारलाई सम्बन्धित निकायमार्फत निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र समयमै पूर्वतयारी थाल्न गम्भीर आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्