नेपाल र मलेसियाका सांसदहरूको संसदीय अनुभव आदानप्रदान, मित्रता थप प्रगाढ हुने विश्वास


काठमाडाैँ । नेपाल र मलेसियाका सांसदहरूले एक आपसमा दुवै देशको संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान गरेको छ ।मंगलवार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरुले मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाबार अनुभव आदानप्रदान गरेका हुन् ।

संसदीय प्रक्रियाबारे अनुभव आदान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले मलेसिया–नेपाल पाल्र्यामेण्ट फ्रेण्ड्सिप ग्रुपले आवश्यक कार्यक्रमहरु गर्न नसकेको बताए । उनले फ्रेण्ड्सिप ग्रुप बनाए पनि सक्रिय हुन नसकेको जिकिर गरे । उनले दुई देशबिचको मित्रता अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मलेसिया र नेपालबिच जनस्तरबीचको सम्बन्ध प्रगाढ रहेको बताए । उनले विकासको गति मलेसियाले धेरै अगाडि बढाएको जिकिर गरे ।

समितिको बैठकमा समिति सभापति कमलादेवी पन्तले मलेसियाका सांसदहरूलाई समितिको तर्फबाट मायाको चिनो समेत प्रदान गरे । बैठकमा अन्य सांसदहरूले मलेसिया र नेपालबिचको संसदीय सम्बन्ध पनि थप मजबुत बनाउँदै एक अर्काको संसदीय अभ्यासहरू सिक्दै अघि बढ्न जरुरी रहेको बताए ।