काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा सामान्य, कर्मकाण्डी भएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय केही छाँटकाँट गरेर प्रश्तुत गरिएको आरोप लगाएका छन् ।
उनले सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरिपनि भुँइमान्छे र आधारभुत वर्गको पक्षमा आउने विश्वास गर्न नसकिने स्पष्ट पारे । सांसद ज्वालाले नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा बजेट फेरिपनि दलाल, भूमाफिया, कालाबजारी र सम्पूर्ण रुपमा दलाल पुँजीपतिको हित र स्वार्थमा केन्द्रित भएर आउनसक्ने दाबी गरे ।
बजेटका प्राथमिकताहरु हेर्दा उत्साह, उर्जा र जनमुखी या उत्पादन र रोजगारी सिर्जना गर्ने खालको आउँछ भन्ने नदेखिएको उनको भनाइ थियो ।
उनले बजेटले आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासलगायतका विविध विषयमा सम्पूर्ण स्रोत साधन र सामर्थ्य परिचालन गर्नु जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्