नेपालको रेल सेवा विस्तारमा कोरियाको चासो, ढुक्क भएर लगानी गर्न मन्त्री दाहालको आग्रह


काठमाडौँ । सरकारले रेल सेवा विकासलाई प्राथमिकतामा राख्दै दक्षिण कोरियालाई लगानी गर्न आह्वान गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार दक्षिण कोरियाली राष्ट्रिय रेल कम्पनी ‘कोरेल’का प्रतिनिधिमण्डलसँगको भेटमा रेल सेवा विस्तारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

मन्त्री दाहालले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूलाई जोड्ने गरी रेल मार्ग विस्तार गर्न आवश्यक रहेको बताए।

उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहेको उल्लेख गर्दै लगानीका विभिन्न मोडलहरूमा पनि छलफल गर्न सकिने जानकारी गराए।

छलफलका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत उत्पादनको उच्च सम्भावना रहेको हुँदा विद्युतीय रेल मार्ग उपयोगी हुने बताए।

लगानी बोर्डका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन भई विभिन्न मोडलमा अध्ययन सुरु हुने जानकारी दिए।

केही दिनभित्रै कार्यदल गठन हुने समेत उनले जानकारी गराएका छन्।

रेल विभागका महानिर्देशक अजय मूलले रेल मार्ग विस्तारका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताए।

कोरेलका प्रमुख कार्यकारी अधिकृत हान मुन हीले आफ्नो कम्पनीले १२६ वर्षदेखिको अनुभवका आधारमा विभिन्न देशहरूमा रेल सेवा विकासमा काम गरिरहेको जानकारी गराउँदै नेपालमा पनि लगानी र सहकार्यका लागि विश्वासको वातावरण आवश्यक रहेको उल्लेख गरे।

उनले नेपाल सरकार, रेल विभाग र कोरेलबीच दर्बिलो सहकार्यका आधारमा अघि बढ्न सकिने धारणा व्यक्त गरे।