निजी क्षेत्रको चाहना नै उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन हाेः अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

मंगलवार राजधानीमा आयोजित ‘आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले अर्थमन्त्री आगामी बजेट निर्माणमा गहिरो रूपमा संलग्न रहेको उल्लेख गरेका हुन्। उनले हालको चुनौतीपूर्ण आर्थिक अवस्थालाई गतिशीलता दिन सक्ने खालको बजेट आवश्यक रहेकोमा जोड दिए ।

अग्रवालले उच्चस्तरीय आयोगले तत्काल, मध्यकालीन तथा दीर्घकालीन सुधारका विषयहरू स्पष्ट रूपमा सिफारिस गरेको जानकारी दिँदै, केही सुझावहरू बजेटमार्फतै कार्यान्वयन गर्न सकिने र केही मन्त्रिपरिषद्को निर्णयबाट अघि बढाउन सकिने बताए। निजी क्षेत्र आयोगका यस्ता सुझावहरू यथाशीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन होओस् भन्ने चाहना राखेको उहाँले स्पष्ट पारे ।

“माननीय मन्त्रीज्यू बजेट निर्माणमा घनिभूत भएर लागिरहनुभएको छ,” अध्यक्ष अग्रवालले भने, “अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आउनुपर्छ। आयोगले पनि सुधारका उपायहरू दिएको छ, ती कार्यान्वयन गरिनुपर्छ।”

उनले सरकारले आयोगका सिफारिसहरूलाई बेवास्ता गरेमा आगामी दिनमा गठन गरिने यस्ता आयोगहरूको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्ने चेतावनी दिए ।