दुग्ध क्षेत्रमा बहुराष्ट्रिय कम्पनी भित्र्याउने प्रयासप्रति डेरी व्यवसायीहरूकाे आपत्ति


काठमाडौँ । नेपालमा दुग्ध उद्योगमा बहुराष्ट्रिय कम्पनी भित्र्याउने प्रयासप्रति डेरी क्षेत्रका व्यवसायी र सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारीले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी लगानी र प्रविधिका माध्यमबाट दुग्ध क्षेत्रको दीगो विकास आवश्यक भएको बताएका छन्।

विज्ञप्तिमा देशमा हाल दैनिक ६२ लाख लिटर दूध उत्पादन हुँदै आएको र यसबाट ६ लाखभन्दा बढी कृषक परिवार प्रत्यक्षरूपमा आबद्ध भएको उल्लेख गरिएको छ। साथै, निजी तथा सहकारी तवरबाट सञ्चालनमा रहेका संकलन केन्द्रहरूले लाखौंको रोजगारी सिर्जना गरिरहेको जानकारी दिइएको छ।

पछिल्ला वर्षहरूमा जनसंख्या घट्ने, आर्थिक मन्दी, रोजगार अभाव र बसाइँसराइजस्ता कारणले दूध खपत घटेको र उत्पादन भएको दूध सबै बिक्री नहुँदा किसानलाई समयमा भुक्तानी दिन नसकिएको स्पष्ट गरिएको छ तर यस्तो परिस्थितिमा बहुराष्ट्रिय कम्पनी भित्र्याउने बहस चल्नु दुग्ध क्षेत्रमा कार्यरत स्वदेशी व्यवसायी र किसानका लागि थप चुनौती बन्ने विज्ञप्तिमा उल्लेख छ।

“केही उद्योगीको कमजोरीलाई आधार बनाई सबै स्वदेशी उद्योगमाथि अविश्वास गर्नु अन्यायपूर्ण हो,” विज्ञप्तिमा भनिएको छ, “यदि कसैले नियतबस किसानको पैसा नदिएको हो भने सो उद्योगीलाई कारबाही गर्नुपर्छ, तर समाधान बहुराष्ट्रिय कम्पनी होइन।”

व्यवसायीहरूले आत्मनिर्भर हुँदै गइरहेको दुग्ध क्षेत्रमा बहुराष्ट्रिय कम्पनी भित्र्याउँदा साना र मझौला उद्योगहरू धरासायी हुने, र निर्वाहमुखी किसान पलायन हुने खतरा रहेको जिकिर गरेका छन्। उनीहरूले समग्र दुग्ध क्षेत्रको हितका लागि सबै सरोकारवाला मिलेर दीर्घकालीन समाधान निकाल्न आग्रह गरेका छन्।