काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले गभर्नर नियुक्ति प्रक्रिया स्वार्थ समूहको प्रभावमा चलेको दाबी गरेका हुन्। उनले राष्ट्र बैंकको गभर्नर सधैं डेपुटी गभर्नरबाटै बनाउने परम्परा रहेपनि हाल त्यसलाई तोडेर कुनै राजनीतिक कार्यकर्ता वा स्वार्थ समूहको अनुकूल हुने व्यक्ति खोजिएको आरोप लगाए ।
“गभर्नरको नियुक्ति प्रक्रिया राजनीतिक र व्यापारिक स्वार्थमा आधारित बनाइएको छ,” उनले भने, “गभर्नर नियुक्तिमा विज्ञता प्राथमिक हुनुपर्ने हो, तर अहिले जुन ढंगले प्रक्रिया अघि बढाइएको छ, त्यसले सरकारको नियतमाथि नै प्रश्न उठाएको छ।”
पुनले स्वार्थ समूहसँग डीएनए नमिलेसम्म नियुक्ति नहुने अवस्था सिर्जना गरिएको उल्लेख गर्दै त्यसले देशको मौद्रिक तथा आर्थिक स्थायित्वमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए ।
उनले गभर्नर पदमा नियुक्त हुनुपर्ने व्यक्तिले मौद्रिक, आर्थिक वा वित्तीय नीतिमा विज्ञता हासिल गरेको हुनुपर्ने र त्यो व्यक्ति कार्यकर्ता होस् वा समर्थक, विज्ञताको आधारमा मात्र छनोट गर्नुपर्ने स्पष्ट पारे ।
पुनले हालको सत्ता गठबन्धनले सुशासन अभियान कमजोर पार्ने, खुला फाइलहरु रोक्ने र भ्रष्टाचारलाई ढाकछोप गर्ने उद्देश्यले गठन गरिएको आरोपसमेत लगाए । अदालतले पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरू प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिनु आश्चर्यजनक भन्दा पनि चिन्ताजनक निरन्तरता भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्