विपद्‌ व्यवस्थापन र पूर्वतयारीमा गम्भीर बन्न सरकारलाई सापकोटाकाे आग्रह


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्‌ व्यवस्थापन र पूर्वतयारीमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले प्रि-मनसुन सुरू भइसकेको अवस्थामा राजमार्गमा त्रास फैलिएको जनाउँदै विपद्‌मा राज्य संयन्त्रको समन्वय अभावले उद्धार र राहत कार्यमा ढिलाइ भइरहेको बताएका छन्।

उनले वैशाख १ गतेदेखि २८ गतेसम्मको तथ्यांक प्रस्तुत गर्दै यस अवधिमा ७३२ वटा विपद्‌का घटनाहरू भएको, जसमा २१ जनाको मृत्यु भएको र करिब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए। उनले भने, “सरकारका आपसी निकायहरूबीच समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाइ भइरहेको छ।”

सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङ क्षेत्रको सडक भासिँदा त्यस क्षेत्र पूर्णरूपमा अवरुद्ध भएको जानकारी पनि बैठकमा प्रस्तुत गरे। उनका अनुसार तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायत सामग्री बोकेका ३० वटा कन्टेनर र ५०० भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेका छन्।

“प्रि(मनसुन सुरु भइसकेको छ, राजमार्गमा त्रास छ, नागरिक सडकमा बस्न बाध्य छन्,” उनले भने, “यस्तो अवस्थामा सरकारले समयमै पूर्वतयारी नगरेमा विपद्‌ले अझ ठूलो क्षति पुर्‍याउन सक्छ।” सांसद सापकोटाले सरकारलाई विपद्‌ व्यवस्थापनमा समन्वयात्मक र पूर्वतयारीयुक्त नीति अपनाउन आग्रह गरेका छन्।