टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा खरिद गरिएको टेरामक्स सम्बन्धी भ्रष्टाचार प्रकरणमा संलग्न भन्दै पूर्व सूचना तथा सञ्चारमन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य मोहन बहादुर बस्नेत, प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

सार्वजनिक सम्पत्तिमा रु.३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार दूरसञ्चार ट्राफिक निगरानी तथा ठगी नियन्त्रण प्रणाली टेरामक्स खरिद प्रक्रियामा अयोग्य परामर्शदातालाई अनुचित रूपमा छनोट गरिएकामा अनियमितता भएको पाइयो। साथै सो प्रणालीको प्रयोगबाट नागरिकको व्यक्तिगत सूचनामा पहुँच हुने गरी संरचना निर्माण गरिएको तर सर्वोच्च अदालतको उत्प्रेषणयुक्त परमादेशको आदेशलाई बेवास्ता गरिएको भन्दै अनुसन्धान भएको हो।

नेपाल दूरसञ्चार नियमावली, २०५४ को दफा ३४ (ग) बमोजिम प्राधिकरणले आ.व. २०७४/०७५ का लागि मन्त्रालयमा पेस गरेको वार्षिक कार्यक्रममा टेरामक्स समावेश नभएको भए पनि तत्कालीन मन्त्री बस्नेतले एकल निर्णयमा सो आयोजना अघि बढाउन निर्देशन दिएको पाइएको आयोगको भनाइ छ।

त्यसैका आधारमा प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले सर्वोच्च अदालतको आदेश र प्रचलित कानूनको उल्लंघन गर्दै प्रणाली खरिद तथा कार्यान्वयन गरेका थिए। यो कार्यले सार्वजनिक सम्पत्तिमा गम्भीर हानि पुर्‍याएको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार भ्रष्टाचारको कसुरमा पर्ने देखिएको आयोगले जनाएको छ। आयोगले दोषीहरूमाथि कानूनअनुसारको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।