सत्तारुढ दलकै वरिष्ठ नेताहरू प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः सांसद थापा


काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले सत्तारुढ दलका वरिष्ठ तथा वाकपटु नेताहरू नै आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सक्रिय नदेखिएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले प्रि–बजेट छलफलजस्तो महत्वपूर्ण बहसमा सत्तापक्षका अनुभवी नेताहरूको उपस्थिति नदेखिनु दुःखद भएको टिप्पणी गरेका हुन्। उनले नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै यस्ता नेताहरूको मौनताले संसदीय अभ्यासको सन्दर्भमा प्रश्न उठाएको बताए ।

थापाले संसदमै सत्तारुढ दलका नेताबाटै बजेट पुस्तक च्यात्ने चेतावनी आउनु आपत्तिजनक भएको उल्लेख गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली दुई ठूला पार्टीसहितको संयुक्त सरकारको नेतृत्व गरिरहनुभएको भन्दै सत्तारुढ दलकै सांसदहरूबाट प्रतिपक्षीको शैलीमा व्यवहार हुनु सहकार्यका लागि अवरोध हुने चेतावनी दिए ।