इन्जिनियर यादव ५ लाख ७० हजार घुससहित नियन्त्रणमा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडक आयोजनाको रनिङ बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा निगरानी राखिएको थियो।

सोही क्रममा टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ५ लाख ७० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीबाट नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार यादवविरुद्ध थप अनुसन्धान भइरहेको छ।