काठमाडाैँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्ने क्रममा रहेको बताएका छन् ।
नेपाल बिमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले छरिएर रहेका विभिन्न निर्देशन तथा निर्देशिका हरूले कार्यान्वयनमा पारेको जटिलताका कारण ती अस्पष्टतालाई चिर्न छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरी बिमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्न लागिएको बताएका हुन्।
उनले बिमक र बिमा प्राधिकरणभित्र पनि छरिएर रहेका निर्देशनका कारणले प्रभावकारी नियमन र सुपरिवेक्षणलाई चुस्तता दिन नसकेको बताए । उनले उक्त एकीकृत निर्देशनलाई आगामी आर्थिक वर्षको साउनदेखि नै कार्यान्वयन गर्ने लक्ष्यका साथ काम भइरहेको जिकिर गरे ।
उनले उक्त एकीकृत निर्देशनले बिमा क्षेत्रलाई विधि पालन गराउनमा अझ प्रभावकारी रूपमा सहयोग गर्ने अपेक्षा राखे । उनले बिमा क्षेत्रको नियमन र नीति कार्यान्वयनमा उक्त एकीकृत निर्देशनले प्रभावकारी भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्