हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन आवश्यक छः राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन समयानुकूल नीति, नियम र प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा मक्का मदिनातर्फ हज यात्रा गर्न लागेका नेपाली हजयात्रीहरूलाई शुभकामना दिने कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले हजलाई आध्यात्मिक पुनःजन्मको रूपमा लिनुपर्ने इस्लाम धर्मावलम्बीहरूको विश्वासको सम्मान गर्दै हजयात्रीहरूको सुविधाका लागि सबै सम्बन्धित निकायहरूले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए।

“हज यात्रा इस्लाम धर्मावलम्बीहरूको आस्था र विश्वासको यात्राका रूपमा रहेको छ। यो यात्राबाट मानिसले आत्मिक शुद्धता प्राप्त गर्ने विश्वास गरिएको छ,”पौडेलले भने, “त्यसैले पवित्र यात्रामा सहभागी हुने नागरिकका लागि सम्पूर्ण सुविधा उपलब्ध गराउने जिम्मेवारी सरकार र सरोकारवाला निकायहरूको हो।”

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको मुलुक भएको स्मरण गराउँदै मुस्लिम समुदायको संस्कृति, परम्परा र कलाको आफ्नै पहिचान र महत्व रहेको उल्लेख गरे । साथै, विविध समुदाय र संस्कृतिको संरक्षण तथा संवद्र्धनमा सबैले मिलेर लाग्नुपर्ने र त्यसकै माध्यमबाट आपसी भाइचारा, मित्रता र सद्भावना बढाउन सकिने विश्वास व्यक्त गरे ।

शुभकामना कार्यक्रममा राष्ट्रपतिले हजयात्रीहरूलाई गम्छा र टोपी लगाई विदाई गर्दै सफल, सुरक्षित र पुण्यदायिनी यात्राको शुभकामना दिएका थिए ।