काठमाडौँ ।काठमाडौं महानगरपालिकाको योजना अनुगमन समितिले लैनचौर मार्गमा गरिएको अस्फाल्ट (कालोपत्रे) कार्यको अनुगमन गरेको छ।
बिहीबार उपप्रमुख एवं योजना अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा सम्पन्न अनुगमनमा निर्माण कार्यको गुणस्तर र पारदर्शितामाथि चासो व्यक्त गरिएको छ।
अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारी, वडा नम्बर २७ का अध्यक्ष ख्यामराज तिवारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा सुवेदी लामिछाने लगायत प्राविधिक समूह सहभागी थिए।
उपप्रमुख डंगोलले अनुगमनका क्रममा बाहिरी आँखाले देखिएका त्रुटिहरू तत्काल सुधार गर्न निर्देशन दिँदै प्राविधिक प्रतिवेदन माग गरेकी छन्। “काम राम्रो देखिएको छ, तर फिल्डको अवस्था र कागजी विवरण मिलाउनु आवश्यक छ,” उनले भनिन्।
अनुगमनमा विटुमिनको मात्रा, कालोपत्रको मोटाइ, कम्प्याक्सन, निर्माण सामग्रीको गुणस्तर, ढल निकास र खानेपानी जस्ता पूर्वाधारसँगको समन्वय जाँच गरिएको थियो। निर्माण अन्तर्गत अस्फाल्ट कार्य सकिएको भए पनि साइड ड्रेन निर्माण कार्य बाँकी रहेको जानकारी दिइएको छ।
लैनचौर मार्ग ४३४ मिटर लामो छ र ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत ओभरलेइङ् गरिएको हो। यससँगै वडा नं। १, २, ३, ४, ५, २६, २८, २९ र ३० का सडकहरूमा पनि ओभरलेइङ् कार्य भइरहेका छन्। निर्माण जिम्मा पाएको ढुकुछु-आरए जेभीसँग २०८१ असार ७ गते सम्झौता भएको हो, जसको अवधि २०८३ असार मसान्तसम्म रहनेछ।
करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता गरिएको छ। हालसम्म २० करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ।
महानगरले सडक विकासलाई बहुवर्षीय योजनाको रूपमा अगाडि बढाएको छ। यसका लागि महानगर क्षेत्रलाई चार भागमा विभाजन गरिएको छ, र प्रत्येक क्षेत्रका लागि छुट्टाछुट्टै प्याकेजमा ओभरलेइङ्, ढलान, ढुङ्गा छाप्ने जस्ता कार्य समावेश गरिएको छ। योजनाअनुसार हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पूर्व क्षेत्र (वडा नम्बर ६, ७, ८, ९, १०, ३१, ३२) का लागि ९० करोड लागत अनुमान गरिएकोमा ७९ करोड ५७ लाख रुपैयाँमा वल्र्डवाइड–कोहिनुर–रमिता जेभीसँग २०८१ असोज १४ गते सम्झौता गरिएको छ। मध्य क्षेत्र (वडा नम्बर ११–१२, १७–२५ र २७ मा ३४ करोड ३३ लाख रुपैयाँमा अर्याल–युएसजी–आरएस लक्ष्मी जेभीसँग २०८१ जेठ २९ मा सम्झौता भएको हो।
पश्चिम क्षेत्र (वडा नम्बर १३–१६) मा भने करिब ६५ करोड ७० लाख रुपैयाँमा पिआर के एण्ड के। जी।–अम्बुजा जेभीसँग २०८२ वैशाख २ मा सम्झौता गरिएको छ। सडक मर्मत सम्भारका लागि भने गणेश एण्ड गंगा, रमिला जेभीसँग २०८० फागुन २३ गते १२ करोड ६५ लाख रुपैयाँमा छुट्टै सम्झौता गरिएको छ, जसको अवधि २०८१ फागुन मसान्तसम्म रहनेछ।
प्रतिक्रिया दिनुहोस्