हिमालहरूको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छः वनमन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरूको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन् ।

शुक्रबारदेखि काठमाडौँमा सुरू भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले जटिल चुनौतीका बाबजुद पनि नेपाल जलवायु नेतृत्वमा दृढ रहेको स्पष्ट गरेका हुन् ।

उनले हिममण्डललाई पृथ्वीको पूर्व चेतावनी प्रणाली भन्दै अहिले हिमालमा जति हिउँ पग्लिन्छ, त्यसले सम्पूर्ण मानव जातिको भविष्य निर्धारण गर्ने उल्लेख गरे । उनले जलवायु परिवर्तनलाई प्राविधिक मात्र नभई गहिरो नैतिक चुनौतीका रूपमा व्याख्या गर्दै ढिलासुस्तीले विनाश निम्त्याउने चेतावनी दिए।

“आज हामीले हाम्रा हिमालहरूको हेरचाह कसरी गर्छौं भन्ने कुरामा मानवताको भविष्य निर्भर गर्दछ,” मन्त्री ठकुरीले भने, “हिमनदीहरूको संरक्षण तथा विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने कार्य छनौटको विषय होइन, पृथ्वीको लागि अनिवार्यता हो ।”

सगरमाथा संवादलाई केवल विचार आदानप्रदानको माध्यम नभई कार्यान्वयनको प्रेरणा बन्नुपर्ने बताउँदै उनले अहिलेको क्षणलाई निर्णायक घडी को संज्ञा दिए । उनले जलवायु परिवर्तन विरुद्धको संघर्षमा सामूहिक, निर्णायक र तत्कालीन कदम आवश्यक रहेको उल्लेख गरे ।

“सगरमाथा र अन्य हिमालहरूको रक्षा गरेर हामीले पृथ्वीको प्राकृतिक धरोहरको मात्र होइन, यसको आत्मा र भावी पुस्ताहरूको आशाको समेत रक्षा गर्न सक्छौं,” ठकुरीले भने, “सगरमाथाले हामीलाई यसको उचाइले मात्र नभई यसको भावनात्मक सन्देशले समेत प्रेरित गरोस् ।”

सगरमाथा संवादको अवसरमा मन्त्री ठकुरीले नेपालले विश्वसमक्ष स्पष्ट सन्देश दिन खोजेको बताउँदै सबैलाई एकसाथ निर्णायक र समावेशी तवरले अविलम्ब कार्य गर्न आह्वान गरे ।