संविधान कार्यान्वयनसँग जोडिएका कानून चाँडो पारित गर्नु सरकारको मुख्य प्राथमिकता हाेः थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग सम्बन्धित कानूनहरू चाँडो पारित गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले संविधान कार्यान्वयनका लागि आवश्यक कानून पारित गर्न अब ढिलो गर्नु नहुने स्पष्ट पारेका हुन् ।

उनका अनुसार संघीयता कार्यान्वयनसँग जोडिएका करिब ४० वटा विधेयक संसद्‌मा पारित हुन बाँकी छन्। तीमध्ये शिक्षा र प्रहरीसम्बन्धी विधेयक पनि रहेका छन्।

“सरकार एक्लैले मात्रै यी कानूनहरू पारित गर्न सक्दैन,” उनले भने, “संसद् र संसदीय समितिहरूले पनि सक्रियतापूर्वक सँगसँगै काम गर्नुपर्छ।”

थापाले केही दिनअघि सरकारका मन्त्रीहरूसँगको छलफलमा मात्रै ३० भन्दा बढी नयाँ कानूनहरू तुरुन्तै आवश्यक रहेको देखिएको उल्लेख गर्दै ती कानूनहरू पारित गर्न संसद्को सक्रियता आवश्यक रहेको बताए। “हाम्रो संसद् यति सक्रिय हुनुपर्छ कि यी सबै कानूनहरू समयमै पास गर्न सकियोस्,” उनले भने।

महामन्त्री थापाले संविधान कार्यान्वयन ढिलो हुनुमा सरकार, संसद् र संसदीय समिति सबैको साझा जिम्मेवारी रहेको पनि बताए।