१६ औं पञ्चवर्षीय योजनाअनुसार बजेट निर्माण गर्नुपर्ने एमाले सांसद श्रेष्ठको आग्रह


काठमाडौँ । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले सरकारलाई १६ औं पञ्चवर्षीय योजनालाई आधार मानेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न आग्रह गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै श्रेष्ठले अहिलेसम्म पञ्चवर्षीय योजनाअनुसार काम गर्न नसकेको भन्दै अब यही योजना नै आधार बनाएर बजेट बनाउनुको विकल्प नभएको स्पष्ट पारे ।

उनले भने, “१६ औं पञ्चवर्षीय योजनाअनुसार बजेट बन्न सक्नुपर्छ। एकातिर योजना बनाउने र अर्कोतिर काम गर्ने परिपाटीले लक्ष्यमा पुगिँदैन।” उनका अनुसार अब बजेट मानव सूचकांकका आधारमा, समाजवादतर्फ उन्मुख हुने दिशामा र जनताको आशा तथा विश्वास जित्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर ल्याइनुपर्छ।

सांसद श्रेष्ठले बजेटले मधेस क्षेत्रको सामाजिक तथा आर्थिक रुपान्तरणमा समेत केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, “हामी कसरी समाजवादतर्फ जान सक्छौं भन्ने सवालमा बजेट र नीति निर्माण केन्द्रित हुनुपर्छ। मानव सूचकांकलाई आधार बनाएर बजेट बनाउँदा कसैले आलोचना गर्न सक्दैन।”

सांसद श्रेष्ठले उद्योग र व्यापार क्षेत्रका लागि ऐन संशोधन भइसके पनि आवश्यक नियमावली बनाउन नसकिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। सुशासनका लागि बनाइएका कानुन कार्यान्वयन नभएको उल्लेख गर्दै उहाँले खर्च कटौती र राजश्व चुहावट नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

उनले वैदेशिक अनुदानको प्रवाह घट्दै गएको सन्दर्भमा अब आत्मनिर्भर अर्थतन्त्रको दिशामा सरकारले स्पष्ट योजना ल्याउनुपर्ने सुझाव दिए ।