‘मेरो नछुटोस् है’ भनेर अर्थमन्त्रीसँग संसदमै कानेखुसी गर्नुपर्ने अवस्था छः उपसभापति वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्र निर्माणको मुल उद्देश्यबाट राजनीतिक दलहरू च्युत हुँदै गएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले राजनीतिक दलरुले मुलुकको विकासमा केन्द्रित हुनुभन्दा निर्वाचमुखी राजनीति गर्दा मुलुकमा समस्यामा सिर्जना भएको बताएका हुन्।

उनले बजेट निर्माणको समयमा मात्रै लुछाचुँडी गर्नुपर्ने अवस्था रहेको तर्क गरे । सांसदहरूले आफ्नो योजना नछुटोस् भनेर अर्थमन्त्रीसँग संसदमा कानेखुसी गर्नुपर्ने अवस्था रहेको तर्क समेत गरे । राज्यको संरचनागत सुधारमा नहुँदा दलहरुले भोट बैंकको राजनीति र टुक्रे आयोजनाको राजनीतिमा लागेको उनको भनाइ छ । 

“हामी राष्ट्र निर्माणको विराट उद्देश्यबाट अलिअलि च्युत हुँदै निर्वाचनमुखी राजनीतितिर गयौं । त्यही भएर अहिले लुछाचुँडी छ । अर्थमन्त्रीज्यु यहाँ बस्नुभयो चार दिन । मैले देखिरहेको छु सबै सांसदहरुले एकैछिन भएपनि कानेखुसी गर्नुपर्नेछ– मेरो चाहीँ नछुटोस् है हजुर भनेर । त्यसैले यो भोट बैंकको राजनीति, टुक्रे आयोजनाको राजनीति लगायतमा राज्य प्रणालीकै दोष भयो,” उनले भने ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जान सकेको खण्डमा निर्वाचनमुखी राजनीतिको अन्त्य गर्न सकिनेमा उनको जोड छ ।