नेपाल औषधि लिमिटेडको उत्पादन सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन समिति गठन


काठमाडाैँ । नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ । 

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी गराएका हुन्। उनले औषधि लिमिटेडले उत्पादन गरेका सिटामोल, जीवनजललगायतका औषधिहरु विक्री नभएको गुनासो आएपछि नियमानुसार तीनै तहका स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रीले छलफल गरेपछि समिति गठन गरिएको बताए ।

उनले स्वास्थ्य मन्त्रीले वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका प्रतिनिधिहरुसँग छलफल गरेकाे जानकारी दिए ।समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लिमिटेडका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

साथै उनले मन्त्रालयले क्यान्सर रोग उपचारको सेवा विस्तारको क्रमलाई निरन्तरता दिएको जानकारी समेत दिए । उनले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड लगायतका विषयमा अनुगमनका लागि पनि समिति गठन गरिएका जानकारी दिए ।